कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नातावाद, कृपावाद र व्यक्तिगत पहुँचलाई प्राथमिकता नदिने जनाएको छ।
पार्टीका सहमहामन्त्री पुरुषोत्तम यादवले उम्मेदवार बन्न कुनै नेता वा सांसदको सिफारिस आवश्यक नपर्ने स्पष्ट पारेका छन्।
बारा जिल्लाको सदरमुकाम कलैया पुगेका सहमहामन्त्री यादवले गढीमाई माताको दर्शनका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।
यादवका अनुसार पार्टीले आफ्नो विधि, नियम तथा ‘क्यान्डिडेट क्लब’ ले निर्धारण गरेको प्रक्रियामार्फत उम्मेदवार छनोट गर्नेछ। उक्त प्रक्रियामा योग्य, सक्षम र प्रतिस्पर्धी व्यक्तिले अवसर पाउने उनको भनाइ छ।
उनले उम्मेदवार छनोटमा आफन्तवाद, नातावाद र कृपावादलाई कुनै स्थान नदिइने उल्लेख गर्दै प्रक्रिया पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित हुने बताए।
राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको पहुँच र व्यक्तिगत सम्बन्धको प्रवृत्तिभन्दा क्षमता तथा प्रतिस्पर्धालाई प्राथमिकता दिने यादवको अभिव्यक्तिलाई सहभागी युवाहरूले सकारात्मक रूपमा लिएका छन्।
सो अवसरमा यूथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेसहित युवाहरूको टोलीको सहभागिता रहेको थियो।

