कलैया । भारतको राजस्थानस्थित माउन्ट आबुबाट आउनुभएकी रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले विद्यार्थी र शिक्षकलाई सकारात्मक सोच, नैतिक मूल्य तथा जीवनमा सफलता प्राप्त गर्न आध्यात्मिक ज्ञानको महत्त्वबारे प्रेरणादायी सन्देश दिनुभएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाले आयोजना गरेको तीनदिने विशेष आध्यात्मिक एवं प्रेरणादायी शिविरको पहिलो दिन शुक्रबार विद्यार्थी र शिक्षकका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा डा. उषा दिदीले विद्यार्थीलाई जीवनप्रति सकारात्मक दृष्टिकोण अपनाउन, आत्मविश्वास बढाउन तथा आफ्नो लक्ष्यप्रति समर्पित रहन प्रेरित गर्नुभयो। उहाँले विद्यार्थी जीवन भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अनुशासन, असल सोच, आत्मविश्वास र नैतिक मूल्यलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले जीवनलाई सुन्दर, सार्थक र सफल बनाउन सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो। तनावबाट टाढा रहँदै आफ्ना क्षमता पहिचान गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन पनि उहाँले प्रेरणा दिनुभयो।
त्यसैगरी शिक्षक तथा शिक्षिकाका लागि आयोजित विशेष कार्यक्रममा डा. उषा दिदीले शिक्षकको भूमिका शिक्षण कार्यमा मात्र सीमित नरहेको बताउनुभयो। शिक्षक समाज र मानवता निर्माणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले आफ्नो आचरण, व्यवहार र सकारात्मक विचारमार्फत विद्यार्थीको जीवनमा प्रेरणादायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
विद्यार्थीका लागि ‘लाइफ इज ब्यूटिफुल’ तथा शिक्षकका लागि ‘टिचर्स : लाइट हाउस फर ह्युम्यानिटी’ शीर्षकमा कार्यक्रम सञ्चालन गरिएको थियो।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाकी मुख्य सञ्चालिका ब्रह्माकुमारी मिना दिदीका अनुसार मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने शिविरमा विभिन्न क्षेत्र र वर्गलाई लक्षित गरी आध्यात्मिक तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरिएको छ।
शिविरको दोस्रो दिन शनिबार महिलाका लागि ‘समाज परिवर्तनको मूल आधार–नारी’ विषयमा विशेष कार्यक्रम आयोजना हुनेछ। सोही दिन जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी ‘सफल जीवनको आधार–गीताको सार’ विषयमा दिव्य प्रवचन समारोह सञ्चालन गरिनेछ।
त्यसैगरी कार्यक्रमको अन्तिम दिन आइतबार सम्मान समारोह तथा स्नेह मिलन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
शिविरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राजदादी माँ, सहनिर्देशक ब्रह्माकुमारी किरण दिदी, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह ऐर तथा मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीलगायतको उपस्थिति रहनेछ।
कलैयास्थित ओम शान्ति टोलमा, राजदेवी मन्दिरदेखि पूर्व–उत्तर दिशामा कार्यक्रम सञ्चालन भइरहेको छ।
आध्यात्मिक ज्ञान, सकारात्मक सोच, नैतिक मूल्य र आत्मिक सशक्तीकरणमार्फत व्यक्ति, परिवार तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजित शिविरमा सबै क्षेत्रका व्यक्तिहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

