डा. उषाद्वारा कलैयाका पत्रकारलाई तनाव व्यवस्थापन र सकारात्मक जीवनशैलीबारे प्रशिक्षण

पढ्न लाग्ने समय : 1 मिनेट

कलैया । पत्रकारिता पेसामा निरन्तर व्यस्तता, समाचार संकलनको दबाब र विभिन्न चुनौतीका बीच काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाले पत्रकारहरूका लागि तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी विशेष आध्यात्मिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भारतको राजस्थानस्थित माउन्ट आबुबाट आएकी रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले पत्रकारहरूलाई तनाव व्यवस्थापन, मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक शक्तिको महत्त्वबारे प्रशिक्षण दिएकी थिइन्।

डा. उषाले पत्रकारिता समाजलाई सही सूचना र सन्देश प्रवाह गर्ने महत्त्वपूर्ण पेसा भएकाले पत्रकारहरूले व्यस्त कार्यशैलीका बीच पनि आफ्नो मानसिक स्वास्थ्य, आत्मिक शान्ति र सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले तनावलाई सही सोच, आत्मअनुशासन र आध्यात्मिक अभ्यासमार्फत व्यवस्थापन गर्न सकिने बताउँदै राजयोग ध्यानले मनलाई शान्त, एकाग्र र सकारात्मक बनाउन सहयोग पुर्‍याउने विषयमा प्रकाश पारेकी थिइन्।

कार्यक्रममा पत्रकारहरूलाई दैनिक जीवनमा तनावमुक्त रहने उपाय, धैर्य र संयम कायम राख्ने तरिका तथा व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन मिलाउने विषयमा समेत प्रेरणादायी ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमले पत्रकारहरूलाई व्यस्त र चुनौतीपूर्ण पेसागत जीवनका बीच मानसिक शान्ति कायम राख्न तथा सकारात्मक ऊर्जा र उत्साहका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Comment