कर्णाली । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको खेलस्थल सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताअन्तर्गतका खेलहरू कर्णाली प्रदेशसहित विभिन्न आठ जिल्लामा सञ्चालन गर्ने गरी खेलस्थल निर्धारण गरेको हो।
परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। सुर्खेतमा एथलेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डीलगायतका खेल हुनेछन्।
त्यसैगरी कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई-स्पोर्ट्स पनि सुर्खेतका विभिन्न खेलस्थलमा सञ्चालन गरिनेछ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार टेनिस, महिला तथा पुरुष खो–खो बर्दियामा सञ्चालन हुनेछ भने पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गरिनेछ।
त्यस्तै जुडो र कुस्ती सल्यान, आइटिएफ तेक्वान्दो दैलेख, महिला तथा पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्ला, बुद्धिचाल कालिकोट र शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछ।
खेलस्थलको विवरणअनुसार सल्यानमा दुई, बाँकेमा दुई र बर्दियामा दुई खेल आयोजना हुनेछन्। त्यस्तै जुम्ला, कालिकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल सञ्चालन गरिनेछ।
प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिनेछ।
आयोजकका अनुसार प्रतियोगितामा करिब ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी झन्डै नौ हजार जनाको सहभागिता रहनेछ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको उनले बताए।
दसौँ राष्ट्रिय खेलकुदले कर्णाली प्रदेशको खेलकुद पूर्वाधार, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।

