३ माघ २०८२, शनिबार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नयाँ नेतृत्व चयनपछि दोस्रोपटक आज नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी छ। बिहान साढे ११ बजेका लागि तय गरिएको बैठक केही ढिलोगरी सुरु भएको हो।
पार्टी केन्द्रीय कार्यालयमा देउवा समूहको उपस्थिति कायम रहेकाले वैकल्पिक स्थलका रूपमा अर्पण बैंक्वेटमा बैठक बसाइएको हो। बैठकमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्नुका साथै आसन्न निर्वाचनलाई केन्द्रमा राखेर रणनीतिक छलफल भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वले शुक्रबार औपचारिक मान्यता पाएपछि पार्टी गतिविधि तीव्र बनेका छन्। सोही सन्दर्भमा आजको बैठकले निर्वाचन तयारीलाई प्राथमिक एजेन्डा बनाएको छ।
बैठकको महत्वपूर्ण निर्णयस्वरूप कांग्रेसले आगामी निर्वाचनका लागि टिकट वितरण गर्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सभापति गगनकुमार थापाको संयोजकत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा सदस्यहरू समेटिएका छन्।
पार्टीका अनुसार संसदीय बोर्डले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, मापदण्डआधारित र समयमै सम्पन्न गर्नेछ। आजको बैठकमा बोर्ड गठनसँगै आगामी २१ फागुनमा तय कार्यक्रम र निर्वाचन केन्द्रित थप निर्णयहरू लिने तयारी रहेको जनाइएको छ।
नयाँ नेतृत्वपछि कांग्रेसले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई एकसाथ अघि बढाउने संकेत गरेको छ।

