काठमाडौं, २५ भदौ । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको आरआर क्याम्पस अगाडि सडकमै खाना पकाएर सरकारको ध्यानाकर्षण गराएको छ।
ग्यास नपाउँदा सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले विद्यार्थीहरूले सडकमा नै खाना पकाएर विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। सोही चुलोमा दाउरा बालेर खाना पकाउनुका साथै प्रदर्शनकारीहरूले सडकमै बसेर खाना खाएका थिए।
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने मागसहित गरिएको उक्त विरोध प्रदर्शनमार्फत विद्यार्थीहरूले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्।

