नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१७ वैशाख, काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

Leave a Comment