काठमाडौं, असोज १८ ।
काठमाडौं–मुग्लिन सडकखण्डमा लगातार पहिरो खसिरहेकाले नागढुंगा चेकपोस्टमा प्रहरीहरूले यात्रु र चालकलाई सडक नअगाडि बढ्न आग्रह गर्दै माइकिङ गरेका छन्।
काठमाडौंको प्रमुख नाका नागढुंगामा खटिएका प्रहरीहरूले “अगाडि धादिङतर्फको बाटो अवरुद्ध भएकाले सुरक्षित रहन काठमाडौंमै फर्कनुहोस्” भन्दै आग्रह गरिरहेका छन्।
धादिङ र तनहुँतर्फको सडक खण्डमा आज बिहानैदेखि आवागमन रोकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार बिहान करिब २ बजे धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। स्थानीय, प्रहरी र यात्रुको प्रयासमा केही समय सडक खोलिएको भए पनि बिहान ६ बजे फेरि माथिबाट ठूलो पहिरो खस्दा दुईतर्फी सडक पूर्ण अवरुद्ध भएको हो।
प्रहरीले हाल तत्काल सडक खोल्ने अवस्था नरहेको भन्दै यात्रुलाई जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरेको छ। यात्रु तथा चालकलाई काठमाडौंमै फर्कनु र सुरक्षित रहन निरन्तर माइकिङमार्फत सूचना दिइरहेको प्रहरीको भनाइ छ।







