बारा, २०८२ मंसिर १८
भारत–नेपाल खुला सीमामा चोरी–तस्करी, अवैध आवत–जावत र आपराधिक गतिविधि बढ्दै गएको भन्दै जेन्जी युथ एन्ड बाराले सीमा सुरक्षामा कडाइ गर्न माग गरेको छ। संगठनका कलैया उपमहानगरपालिका संयोजक सौरभ पाण्डेले प्रमुख जिल्ला अधिकारीलाई सम्प्रेषित मागपत्रमार्फत तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।
मागपत्रमा हाल सीमामा कमजोर सुरक्षा व्यवस्थाका कारण मानव तस्करी, अवैध व्यापार, आपराधिक गतिविधि र अनधिकृत प्रवेशजस्ता समस्या तीव्र बन्दै गएको उल्लेख छ। पाण्डेले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धलाई प्रभावित पार्ने गतिविधि रोक्न दुवै देशको सरकारी संयन्त्रले सक्रिय समन्वय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मागपत्रमा उल्लेखित ७ प्रमुख माग यसप्रकार छन्ः
- सीमाक्षेत्रमा सुरक्षाको स्तर बढाई प्रशासनले कडा निगरानी लागू गर्नुपर्छ।
- भारतीय नागरिक आउने जाने नाकामा Verification Desk स्थापना गर्नुपर्छ।
- सरकारी कार्यालयमा प्रवेश गर्ने व्यक्तिको अनिवार्य कागजात प्रमाणीकरण गर्नुपर्छ।
- बिना कागजात वितरण भएका नागरिकता तथा अन्य महत्वपूर्ण कागजात तत्काल रोक्नुपर्छ।
- सूचना संकलन र अनुसन्धानमा केन्द्रित संयुक्त सुरक्षा अभियान सञ्चालन गर्नुपर्छ।
- अवैध गतिविधिमा संलग्न कर्मचारी वा व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्छ।
- सीमा सुरक्षाबारे नेपाल–भारत दुबै सरकारबीच प्रभावकारी समन्वय गर्नुपर्छ।
मागपत्रमा सीमा क्षेत्रमा हुने कालाे कारोबार, गैरकानुनी करार, आपराधिक समूहहरूको आवत–जावत, सामाजिक अव्यवस्था र सुरक्षामा चुनौती बढ्दै गएको उल्लेख गरिएको छ।
संयोजक पाण्डेले लेखित पत्रमा भनिएको छ—
“नेपाल भारत सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनु आवश्यक छ। नागरिकको सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि कडा नीतिको कार्यान्वयन अनिवार्य भइसकेको छ।”
जेन्जी युथ एन्ड बाराले पठाएको पत्रको प्रतिलिपि प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय दुवैलाई प्रेषित गरिएको छ।






