२० मंसिर ,काठमाडौँ : निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार रहेको बताएका छन्।
निर्वाचन मितिसम्म अब करिब ९० दिन मात्र बाँकी रहेको सन्दर्भमा उनले नेपाल सरकारले आयोगले माग गरेको अनुसार आवश्यक प्रबन्ध मिलाइसकेकाले निर्वाचनको वातावरण थप सुदृढ भएको बताए।
शुक्रबार प्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा आयोग निर्वाचनका सबै तयारीमा जुटेको भण्डारीले स्पष्ट पारे।
उनका अनुसार पूर्वतयारीका क्रममा बजेट केही अपर्याप्त देखिए पनि अर्थ मन्त्रालयले आवश्यक खर्चका आधारमा थप रकम उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ।
भण्डारीले भने, ‘अब हामी नियमित कार्यक्रमहरू योजना अनुसारै अघि बढाउँछौँ। यो विषय सरकार, राजनीतिक दल तथा सुरक्षा निकाय सबैलाई जानकारी गराइसकेका छौँ।’
निर्वाचनका लागि आयोगले करिब सात अर्ब रुपैयाँ बजेट माग गरेकोमा अर्थ मन्त्रालयले हालसम्म पाँच अर्ब ९६ करोड रुपैयाँ उपलब्ध गरिसकेको छ।
आयोगले शुक्रबार समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन औपचारिक आह्वानसमेत गरेको छ। यसअघि मंसिर १४ गतेसम्म १२० राजनीतिक दलले निर्वाचनमा भाग लिने गरी निवेदन दर्ता गराइसकेका छन्।

