प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईँको चेतावनी : “माग नपुरा भए चुनाव हुँदैन, जनविद्रोह हुन्छ”

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मंसिर २२, काठमाडौं — नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले आफ्ना मागहरू पूरा नभए देशमा जनविद्रोह हुने चेतावनी दिएका छन्। सोमबार साँझ सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले प्रष्ट–सन्देशसहित सरकारलाई कडा चेतावनी दिएका हुन्।

प्रसाईँका अनुसार, आफूले प्रधानमन्त्री कार्कीसमक्ष जनजीविका र राजनीतिक संरचनासँग सम्बन्धित मुख्य मागहरू राखेका छन्। उनका मागबारे अध्ययन गरी पुस २ गते निर्णय गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको उनले बताए।

“मागहरू जनजीविकासँग जोडिएका छन्”

भेटपछि बोल्दै प्रसाईँले भने,
“हाम्रा सबै माग नागरिकको जनजीविकोपार्जनसँग सम्बन्धित छन्। कम्युनिष्टहरूले झन्डा बोकेर जनताको नाममा अर्बौं कमाए, तर जनताका पीडा सुल्झेनन्।”

उनले प्रधानमन्त्री तथा गृहमन्त्री दुबैलाई मागका सबै बुँदा विस्तृत रूपमा बुझाइएको बताए।

संघीयता, धर्मनिरपेक्षता र राजसंस्थामा जनमतसंग्रहको माग

२०६२/६३ को जनआन्दोलनले संघीयता वा धर्मनिरपेक्षता ल्याउने म्यान्डेट नदिएको दाबी गर्दै प्रसाईँले अहिलेको राज्य व्यवस्था सम्बन्धमा जनमतसंग्रहको आवश्यकता रहेको दोहोर्‍याए।
उनका अनुसार, राजसंस्थाको भूमिकादेखि लिएर धर्मसहिष्णुता र राज्य संरचना सबै विषय ‘जनमतसंग्रहमार्फत’ पुनःनिर्धारण गर्नुपर्ने छ।

“प्रतिनिधिसभा चुनाव समयमै हुँदैन”

सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन निर्धारित मितिमा हुनै नसक्ने दाबी समेत प्रसाईँले गरे।
उनले भने,
“व्यवस्था नै बिग्रिएको छ। इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ। अहिलेको अवस्था यस्तो छ कि चुनाव हुने अवस्था छैन। सरकारले ठीक निर्णय नलिए चुनाव हुँदैन।”

हिन्दू अधिराज्य र राजसंस्थाका विषयमा पनि जनमतसंग्रहको प्रस्ताव

प्रसाईँले किरात, बौद्ध र हिन्दू धर्मसमेत समेटिने गरी हिन्दू अधिराज्यको अवधारणा तथा राजसंस्थाको पुनर्स्थापना सम्बन्धमा पनि जनमतसंग्रह गर्नुपर्ने माग राखेका छन्।

Leave a Comment