२ मंसिर,काठमाडौं
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट प्रकट हुने जनआकांक्षाअनुसार निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको बताएकी छन्।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हालको सरकारको प्रमुख लक्ष्य सुशासन कायम गर्नु र समयमै निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारिन्। उनले हालै भएको जेनजी युवाहरूको आन्दोलनपछि देशमा नयाँ राजनीतिक चेतना र परिस्थिति निर्माण भएको उल्लेख गर्दै त्यसलाई लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्नु अपरिहार्य भएको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार दिन–रात तयारीमा जुटिरहेको छ। “निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भनिन्, “यसका लागि सबै पक्षको सहयोग आवश्यक छ।”
उनले संविधानको मर्मअनुसार लोकतान्त्रिक अभ्यासलाई अघि बढाउन निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्दै मुलुकलाई सुशासनको बाटोमा लैजान जननिर्वाचित सरकार अपरिहार्य रहेको धारणा राखिन्।
प्रधानमन्त्री कार्कीले समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै शान्ति र सुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध सुरक्षा निकाय सक्रिय रहेको जानकारी दिइन्। साथै, कानून हातमा लिने प्रवृत्तिको नियन्त्रणमा राज्यसँगै समुदायको भूमिका पनि निर्णायक हुने उनले उल्लेख गरिन्।
उनको भनाइमा, लोकतन्त्र, संविधान र स्थायित्वको रक्षा गर्ने सबैभन्दा प्रभावकारी माध्यम स्वतन्त्र र निष्पक्ष निर्वाचन नै हो।






