एमाले नेतृत्वमा ओलीको निरन्तरता, अध्यक्षमा तेस्रो कार्यकाल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ पुस — नेकपा एमालेको नेतृत्व फेरि पनि केपी शर्मा ओलीकै हातमा पुगेको छ। पार्टीको ११औँ महाधिवेशनबाट ओली लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि नवौँ र दशौँ महाधिवेशनमा पनि उनी नै पार्टीको सर्वोच्च पदमा पुगेका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मतमा सीमित रहँदै पराजय भोगे। औपचारिक घोषणा बाँकी रहे पनि परिणामले ओलीको तेस्रो कार्यकाल सुनिश्चित गरिसकेको छ।

उपमहासचिवमा मिश्रित परिणाम, ओली र पोखरेल दुवै पक्षका नेता निर्वाचित

महाधिवेशनबाट चयन भएका उपमहासचिव पदमा भने फरक–फरक प्यानलका नेताहरू निर्वाचित भएका छन्। लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन्।

मत परिणामअनुसार लेखराज भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १ हजार ३४८ मत प्राप्त गरे। भट्ट र महासेठ अध्यक्ष ओलीको प्यानलबाट निर्वाचित हुँदा भट्टराई भने अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलको प्यानलबाट विजयी भएका हुन्।

उपमहासचिवको नतिजाले पार्टीभित्र नेतृत्व सन्तुलन र फरक धारको उपस्थितिलाई संकेत गरेको विश्लेषण गरिएको छ।

Leave a Comment