पूर्वगृहमन्त्री लेखक आज आयोगमा उपस्थित हुँदै, बयानपछि पत्रकार सम्मेलन गर्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, पुस १४, २०८२ । पूर्वगृहमन्त्री रमेश लेखक आज भदौ २३ र २४ गते भएका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने भएका छन्। आयोगको कार्यालयमा आज दिउँसो १२ बजे पुगेर घटनासम्बन्धी आफ्नो धारणा राख्ने तयारी गरेको लेखकले जानकारी दिएका छन्।

भदौ २३ गते भएको आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको घटनालाई लिएर लेखकसँग सोधपुछ हुन लागेको हो। सो घटनापछि देशभर २१ जनाको ज्यान गएको थियो। गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै लेखकले सोही रात गृह मन्त्री पदबाट राजीनामा दिएका थिए।

आयोगमा बयान दिएपछि लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत थप धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

यसबीच, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको वैधतामाथि प्रश्न उठाउँदै प्रत्यक्ष बयानमा नजाने अडान लिँदै आएका थिए। तर लेखक आयोगमा उपस्थित हुन लागेपछि ओलीमाथि पनि नैतिक दबाब बढेको छ। आयोग स्रोतका अनुसार ओलीले कागजी बयान पठाउने तयारी गरेका छन्।

आयोगले लेखकको बयान सकिएलगत्तै ओलीको बयान लिने कार्यतालिका बनाएको जनाएको छ।

Leave a Comment