१५ पुस,कलैया, बारा ।
अत्यधिक जाडोका कारण बाराको कलैया उपमहानगरपालिकाले यसअघि दिइएको विदा अवधि सकिन नपाउँदै विद्यालयहरूमा थप तीन दिन विदा दिने निर्णय गरेको छ।
पहिलेदेखि नै जाडोका कारण नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठन–पाठन स्थगित रहेको अवस्थामा, बढ्दो चिसोले बालबालिकाको स्वास्थ्यमा थप जोखिम बढ्न सक्ने भन्दै उपमहानगरपालिकाले पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालय बन्द रहने गरी विदा थप गरेको हो।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिव कुमार यादवद्वारा आज जारी सूचनाअनुसार अत्यधिक चिसो, बाक्लो हुस्सु र कुहिरोका कारण विद्यार्थीहरू प्रभावित हुन सक्ने देखिएकाले विदा अवधि थप गरिएको जनाइएको छ। थप गरिएको विदा विद्यालयको वार्षिक विदाबाट कट्टा हुने सूचनामा उल्लेख छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश क्षेत्रमा निरन्तर कुहिरो र चिसो हावा चलिरहेको जनाउँदै बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
महाशाखाले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई चिसोबाट जोगिन, आवश्यक सावधानी अपनाउन र बिहानको समयमा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

