आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, देशभर विविध कार्यक्रम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १६ पुस।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ।

विसं २०३३ पुस १६ गते बिपी कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ताहरू लामो निर्वासित जीवन त्याग गरी नेपाल फर्किएका थिए। उनीहरूमाथि अदालतमा मृत्युदण्डसम्मका मुद्दा चलिरहेका बेला पनि राष्ट्र र राष्ट्रियताको हितलाई प्राथमिकतामा राख्दै स्वदेश फर्किने साहसी निर्णय गरिएको थियो।

भारत निर्वासनका क्रममा सिक्किम भारतमा विलय भएको घटनालगायत क्षेत्रीय विखण्डनका उदाहरण नजिकबाट अवलोकन गरेका बिपी कोइरालाले नेपालमा पनि राष्ट्रियता कमजोर नहोस् भन्ने उद्देश्यसहित मेलमिलाप र एकताको नीति अघि सारेका थिए। सोही नीतिअनुसार आजभन्दा ४९ वर्षअघि उनीहरू नेपाल फर्किएका हुन्।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा गरिएको शाही ‘कु’ पछि बिपी कोइरालालाई सिंहदरबारमा नजरबन्द गरिनुका साथै पछि सुन्दरीजल बन्दीगृहमा सारिएको थियो। आठ वर्षपछि उपचारका लागि रिहा गरिएका उनी भारत पुगेपछि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध पुनः राजनीतिक गतिविधिमा सक्रिय भएका थिए।

स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलबाटै बिपी कोइराला र गणेशमान सिंहलगायत नेताहरूलाई पुनः नियन्त्रणमा लिई सुन्दरीजल बन्दीगृह लगिएको थियो। पछि विभिन्न मितिमा रिहा र पुनः बन्दी बनाइएका बिपीलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा समेत राखिएको थियो। २४ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ।

बन्दी जीवनकै क्रममा बिपी कोइरालाले ‘श्वेतभैरवी’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ लगायत महत्वपूर्ण कृति र आत्मजीवनी ‘आफ्नो कथा’ लेखेका थिए। जेल जीवनको दैनिकी पछि ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ शीर्षकमा प्रकाशित भएको छ। उनी नेपाली साहित्यमा यौन–मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा समेत चिनिन्छन्।

दिवसको अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्ने जनाएको छ। प्रत्येक वर्ष पुस १६ गते मनाइने यो दिवसले राष्ट्रिय एकता, सहमति र लोकतान्त्रिक मूल्यको स्मरण गराउने विश्वास लिइएको छ।

Leave a Comment