२१ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राजनीतिक दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा विभिन्न त्रुटि फेला परेपछि सम्बन्धित दलहरूलाई सच्याउन निर्देशन दिएको छ।
आयोगका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेसहित केही दलको सूचीमा एकै व्यक्तिको नाम फरक–फरक समूह (क्लस्टर) मा दोहोरिएको, हुनुपर्ने समूहभन्दा फरक समूहमा नाम समावेश गरिएको जस्ता त्रुटि भेटिएका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले इमेलमार्फत दलहरूलाई विवरण सच्याउन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा समावेश नामहरूको क्लस्टर प्रतिशतसमेत परीक्षण गर्दा कानुनी मापदण्ड नमिलेका अवस्था देखिएका हुन्।
कतिपय उम्मेदवारको नाममा हस्ताक्षर नभएको तथा पिछडिएको क्षेत्र अन्तर्गत राखिएका केही व्यक्तिको नागरिकता विवरण पुनः जाँच गर्नुपर्ने अवस्था देखिएको आयोगले जनाएको छ। यस्ता विषय स्पष्ट पार्न र मिलाउन आयोगले औपचारिक पत्राचार गरेको हो।
गत पुस १३ र १४ गते राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए। सो सूचीको अध्ययनपछि आइतबार आयोगले देखिएका त्रुटि सच्याउन दलहरूलाई समय दिएको हो।
आयोगका अनुसार दलहरूले आजदेखि पुस २७ गतेसम्म त्रुटि सुधार गर्न सक्नेछन्। उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा पुस २८ गते समय तोकिएको छ। फिर्ता भएको विवरण आयोगले पुस २९ गते सम्बन्धित दललाई जानकारी गराउनेछ।
नाम फिर्ताका कारण रिक्त भएको स्थानमा सोही समूहबाट नयाँ उम्मेदवार मनोनयन गरी पुस ३० गतेभित्र आयोगमा सूची बुझाउनुपर्नेछ। त्यसपछि संशोधित बन्दसूची प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ।
आगामी माघ ४ गते उम्मेदवारको बन्दसूची सार्वजनिक भएपछि माघ ५ देखि १० गतेसम्म समावेश उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न सकिने व्यवस्था गरिएको छ।
दाबी–विरोधमाथि जाँचबुझ गरी माघ ११ देखि १७ गतेसम्म आयोगले निर्णय गर्नेछ भने अन्तिम बन्दसूची माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ।

