नेपाल–भारतबीच डिजिटल भुक्तानीदेखि एआई सहकार्यसम्म तीन महत्वपूर्ण समझदारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २४ जेठ — नेपाल र भारतबीच डिजिटल भुक्तानी, भूकम्पपछिको पुनर्निर्माण तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी तीन महत्वपूर्ण समझदारी भएका छन्। नयाँदिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा यी सहमतिहरू भएका हुन्।
दुवै देशले सीमापार डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्दै नेपाली नागरिकलाई पनि भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउने सहमति गरेका छन्। यसले नेपाल–भारतबीचको आर्थिक कारोबार, पर्यटन तथा रेमिट्यान्स प्रणालीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
वार्ताका क्रममा भारतको सहयोगमा पुनर्निर्माण गरिएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि भारतले उपलब्ध गराएको सहयोगअन्तर्गत यी परियोजनाहरू सम्पन्न भएका हुन्।
त्यसैगरी, काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच भाषा अनुवादमा आधारित ‘भ्वाइस–फर्स्ट’ प्लेटफर्म विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ। यसले डिजिटल पूर्वाधार र एआई प्रविधिको विकासमा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
बैठकमा व्यापार, ऊर्जा, सीमापार पूर्वाधार, जलस्रोत व्यवस्थापन, सूचना प्रविधि तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा समेत विस्तृत छलफल भएको थियो। दुवै पक्षले परम्परागत मित्रतालाई आधुनिक प्रविधि र आर्थिक सहकार्यसँग जोड्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

Leave a Comment