काठमाडौं, असार ३० — लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया तीव्र बनाइएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई मंगलबार अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन बुझाएको छ। मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेको हो।
प्रतिवेदनअनुसार नेपाली सेनाले परीक्षण उत्पादनको जिम्मेवारी पाएसँगै उद्योगभित्र रहेका मेसिनको मर्मत, सरसफाइ तथा आवश्यक कच्चा पदार्थ खरिदको काम सुरु गरिसकेको छ। अर्थ मन्त्रालयले प्रारम्भिक कार्यका लागि ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।
उद्योगको भौतिक संरचना मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार पारेको छ भने उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम पनि सम्पन्न भइसकेको जनाइएको छ।
सरकारले प्रारम्भिक चरणमा पुराना मेसिनकै सहायताले परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना बनाएको छ।
प्रतिवेदन बुझ्दै मन्त्री यादवले हेटौँडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको परियोजना भएकाले यसलाई पुनः सञ्चालन गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउँदै निर्धारित समयभित्र उत्पादन सुरु गर्न आवश्यक सबै सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य
Leave a Comment
Leave a Comment

