वीरगञ्जमा साम्प्रदायिक तनाव चर्किएपछि प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, २१ पुस ।
वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच बढ्दो विवाद र प्रदर्शनका कारण अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू भएको हो। शान्ति सुव्यवस्था कायम राख्न वीरगञ्जका बसपार्क, सिर्सिया पुल, पावर हाउस चोक र शंकराचार्य गेट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

निषेधाज्ञाको अवधिमा ती क्षेत्रमा कुनै पनि किसिमका सभा, भेला, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। दुई समुदायबीच उत्पन्न तनाबले सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि सम्भावित अप्रिय घटना रोक्न यो कदम चालिएको प्रशासनले जनाएको छ।

प्रशासनले आम नागरिकलाई संयम अपनाउन आग्रह गर्दै अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेको छ।

Leave a Comment