सिराहा, असोज ४ । ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले २२ महिनापछि पक्राउ गरेको छ।
भारतको बिहारस्थित मधुबनी जिल्लाको मधवनी थाना क्षेत्रअन्तर्गत ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरीलाई सिराहा प्रहरीले बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मंसुरीलाई शनिबार साँझ करिब ७ बजेर १० मिनेटमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०८१ साल मंसिर १६ गते भारततर्फ टाटा सफारी गाडीमा ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले गाडी रोक्न खोजेको थियो। त्यस क्रममा डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारीका चालक मंसुरीले ड्युटीमा रहेका सई यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएर फरार भएका थिए।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि फरार रहेका मंसुरीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
पक्राउ गर्ने क्रममा मंसुरीसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले जवाफी कारबाही गर्दा तीन राउन्ड गोली चलाएको थियो।
प्रहरीको जवाफी फायरिङमा मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको बताइएको छ। उनलाई नियन्त्रणमा लिएपछि उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

