२४ पुस २०८२, काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुनः कानून व्यवसायमै फर्किने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो वर्तमान जिम्मेवारी पूरा गरेपछि पुरानै पेशामा फर्किने स्पष्ट पारेका हुन्।
मानव अधिकारकर्मी र कानून व्यवसायीको सहभागिता रहेको कार्यक्रममा गृहमन्त्री अर्यालले आफू मूलतः यही क्षेत्रबाट राजनीतिमा आएको स्मरण गराउँदै भने, “म यहीँबाट गएको मान्छे हुँ र यहीँ फर्किन्छु। म तपाईंहरूकै बीचमा छु।”
उनले विगतमा मानव अधिकारका लागि संघर्ष गरेको र हाल पनि सोही उद्देश्यका साथ काम गरिरहेको उल्लेख गरे। “पीडितका लागि न्याय खोज्दै हिँडेको व्यक्ति हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको छु र अहिले पनि त्यही प्रयास जारी छ,” उनले भने, “भोलि पनि नागरिककै हैसियतमा यही पेशामा फर्किन्छु।”
गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा दण्डहिनतालाई कुनै हालतमा प्रश्रय नदिने प्रतिबद्धता व्यक्त गरे। “म कानून व्यवसायी हुँ र सधैं न्याय, मानव अधिकार र सामाजिक न्यायको पक्षमा उभिएको छु,” उनले भने, “मेरो क्षमताले भ्याएसम्म दण्डहिनता कायम रहन दिने छैन।”
हाल सरकारको मुख्य ध्यान निर्वाचनमै केन्द्रित रहेको उल्लेख गर्दै उनले निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गरिरहेको बताए। आफू कुनै पक्ष वा विपक्षमा नलागेको स्पष्ट पार्दै उनले अन्तरक्रियामा सहभागी कानून व्यवसायी र अधिकारकर्मीलाई निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरे।



