काठमाडौं, पुस २५
नेपाली कांग्रेसले पुस २७ र २८ गतेका लागि तोकिएको विशेष महाधिवेशन तत्काल स्थगित गर्न औपचारिक अपिल गरेको छ। पार्टी विधानअनुसार विशेष वा नियमित महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिसँग मात्रै रहेको भन्दै कांग्रेसले पदाधिकारी वा व्यक्तिगतरूपमा बोलाइएका कार्यक्रम अस्वीकार्य हुने स्पष्ट पारेको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको नाममा तय गरिएको भेला पार्टी एकताका लागि घातक हुनसक्ने निष्कर्ष निकाल्दै सम्पूर्ण नेता–कार्यकर्तालाई उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गरेको हो।
बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा नजान आह्वान गरिएको जानकारी दिए। विधानले पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नदिएको हुँदा तोकिएको कार्यक्रम रोक्न अपिल गरिएको उनले बताए।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वर्तमान परिस्थितिमा पार्टी एकता जोगाउँदै नियमित महाधिवेशन सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए। “नियमित महाधिवेशनमार्फत नेतृत्व चयन अपरिहार्य छ, तर हतारमा गरिने निर्णयले पार्टी विभाजनको जोखिम बढाउँछ,” उनले भने।
उनका अनुसार पार्टी विधानबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केवल केन्द्रीय समितिलाई मात्र रहने व्यवस्था छ। त्यसविपरीत हुने कुनै पनि गतिविधि विधानविपरीत हुने भन्दै यस्ता क्रियाकलापमा संलग्न नहुन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।
बैठकले मंसिर १५ गते तय गरिएको महाधिवेशन कार्यतालिका संशोधन गरी १५औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने निर्णयसमेत दोहोर्याएको छ। साथै विशेष महाधिवेशनको मागले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई क्षति पुग्ने र देश राजनीतिक अस्थिरतातर्फ जान सक्ने भन्दै कांग्रेस एकताबद्ध भएर चुनावी तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको छ।
‘नीति र नेतृत्व दुवै परिवर्तन आवश्यक’ : गगन थापा
यसैबीच कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी रूपान्तरणका लागि नीति र नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशनले पार्टीलाई कुनै क्षति नपुग्ने दाबी गरे।
थापाले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागका आधारमा विशेष महाधिवेशन आह्वान गरिएको उल्लेख गर्दै पार्टी विभाजनको बहस निरर्थक भएको बताए। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तोसमेत दिइएको जानकारी दिए।
देउवा–शेखर कोइरालाबीच संवाद
कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। कोइरालाले विशेष महाधिवेशनको विषयमा निकास निकाल्न सभापति देउवालाई सक्रिय पहल गर्न र पक्ष–विपक्षबीच संवाद गर्न आग्रह गरेका छन्।
कोइरालाको सचिवालयका अनुसार पार्टीभित्र देखिएका विवाद र समसामयिक राजनीतिक विषयमा उनीहरूबीच परामर्श भएको हो। सभापति देउवाले सबैसँग संवादमार्फत समाधान खोज्न आफू तयार रहेको बताएका छन्।

