आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार, पुस २७, २०८२

काठमाडौँ :
आज ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा प्रत्येक वर्ष पुस २७ गते यो दिवस मनाइने गरिन्छ।

तत्कालीन गोर्खा राज्यका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा सुपुत्रका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा बनेका थिए। उनले बाइसे–चौबीसे राज्यहरूलाई एक सूत्रमा बाँध्दै एकीकृत नेपाल निर्माणको अभियान सुरु गरेका थिए।

वि.सं. १८२५ सालमा इन्द्रजात्राका दिन काठमाडौंमाथि विजय प्राप्त गरेपछि उनले काठमाडौंलाई एकीकृत नेपालको राजधानी बनाएका थिए। उनका छोरा बहादुर शाहको पालासम्म एकीकरण अभियान निरन्तर अघि बढ्दै नेपालको सिमाना पूर्वमा टिष्टा नदीदेखि पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल–अंग्रेज युद्धपछि नेपाल हालको सीमामा सीमित हुन पुगेको हो।

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ जस्ता पृथ्वीनारायण शाहका दूरदर्शी भनाइ आज पनि सान्दर्भिक मानिन्छन्।

वि.सं. १८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।

पृथ्वीजयन्तीका अवसरमा आज सिंहदरबारको पश्चिम मूलढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको शालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा विभिन्न संघ–संस्था तथा निकायले श्रद्धाञ्जली तथा स्मरण कार्यक्रम सञ्चालन गरेका छन्।

Leave a Comment