२७ पुस २०८२, आइतबार
काठमाडौँ :
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशन सोमबारसम्म चल्नेछ।
विशेष महाधिवेशनको उद्घाटन कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना गरिएको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ। तर देउवाले भने महाधिवेशनमा सहभागी नहुने जनाएका छन्।
महाधिवेशनको उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने विशेष महाधिवेशन सचिवालयले जनाएको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आज बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको छ। भृकुटीमण्डपको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गरिनेछ। नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने र दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
आज उद्घाटन कार्यक्रमपछि बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिमध्ये जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। बन्द सत्रको सभापतित्व कसले गर्ने भन्ने टुंगो भने लागिसकेको छैन।
विशेष महाधिवेशन सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना छ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका थिए। सोही आधारमा महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन बोलाएका हुन्।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। उनीहरूले आजकै दिन जिल्ला सभापति तथा युवाहरूको छुट्टै भेला पनि बोलाएका छन्।
महाधिवेशनमा सहभागी हुन बाहिर जिल्लाबाट प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन्।

