४ माघ २०८२, आइतबार | काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज औपचारिक रूपमा पदबाट राजीनामा दिने भएका छन्। राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
रास्वपाको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ। बैठकबाट निर्णय भएपछि पार्टी सभापति रवि लामिछानेसहित बालेन शाह आजै जनकपुर प्रस्थान गर्ने कार्यतालिका बनाइएको छ।
बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्। त्यस क्षेत्रलाई केन्द्रित गर्दै रास्वपाले सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको पार्टी स्रोतले जनाएको छ।
इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका बालेन शाह र्यापरका रूपमा समेत परिचित छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा अत्यधिक लोकप्रिय मतसहित निर्वाचित भएका थिए। पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ पछि उनी रास्वपामा आबद्ध भएका हुन्।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलबाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका थिए। त्यसयता बालेनको संघीय राजनीतिमा प्रवेशलाई चासोका साथ हेरिँदै आएको छ।
मेयर पदबाट राजीनामासँगै बालेन शाहको यात्रा स्थानीय तहबाट संघीय संसदतर्फ औपचारिक रूपमा मोडिन लागेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

