काठमाडौं, ४ माघ २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हाललाई आफ्नो राजीनामा रोक्ने निर्णय गरेका छन्। आजै राजीनामा बुझाउने तयारी भइरहेको चर्चा चलिरहेका बेला अन्तिम समयमा उनले निर्णय परिवर्तन गरेका हुन्।
बालेन निकट स्रोतका अनुसार कांग्रेस अदालत गएको र त्यसको असर चुनावी तालिकामा पर्न सक्ने सम्भावनाले राजीनामा तत्काल नदिने निर्णय गरिएको हो। ‘अदालतको निर्णयले चुनाव सर्ने वा अन्य राजनीतिक मोड आउन सक्ने अवस्था छ,’ बालेन निकट एक नेताले भने, ‘यही अनिश्चितताका कारण अन्तिम समयसम्म राजीनामा होल्ड गरिएको हो।’
कानुनअनुसार उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने प्रावधान भएकाले पनि उनले तत्काल राजीनामा नदिने रणनीति अपनाएको बुझिएको छ।
बालेन शाह आज केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यक्रम छ। यद्यपि उनी मेयर पदबाट राजीनामा नदिई पार्टी कार्यालय जानेछन्।
झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका बालेनले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने संकेत गरेका थिए। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ, जसका कारण दलहरू अहिले उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छन्।
यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवार छनोटलाई तीव्रता दिएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि बालेन शाह पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
पार्टी कार्यालयमा नेता–कार्यकर्ताको उपस्थिति बढ्दो छ। नेताहरूका अनुसार मेयर शाह दिउँसो १ बजे कार्यालय पुग्नेछन्। २ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ। मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने तय भएको स्रोतले जनाएको छ।



