८ माघ,काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन जोड्यो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने स्टेर कालिसले ३० रन बनाइन्। रोबिन रिकेले १९ रन बनाउँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्। सुरुआतमा १५ रनमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सलाई बाबेट र कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्हालेका थिए।
नेपालका बलरमध्ये रुबिना क्षेत्री प्रभावशाली रहिन्। उनले दुई विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एक–एक विकेट हात पारिन्।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध जित निकाल्दै प्रतिस्पर्धामा पुनरागमन गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिएको छ।



