काठमाडौँ : प्रतिनिधिसभाले निर्वाचनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार बसेको बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ अनुमोदन गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेकी थिइन्।
सरकारले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि अध्यादेशमार्फत ल्याएका निर्वाचन कानुन संशोधनलाई प्रतिस्थापन गर्न यी विधेयक संसद्मा ल्याइएको बताइएको छ।
विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेमबहादुर बयक ले समानुपातिक निर्वाचन प्रणालीमा अपाङ्गता भएका व्यक्तिको सहभागिता अझ सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसको जवाफमा मन्त्री गौतमले आगामी निर्वाचनमा समावेशिताको विषयलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन्।
‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलमा भने कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिएनन्।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने तय गरिएको छ।
निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित
Leave a Comment
Leave a Comment






