सिरहा | माघ १३, २०८२, मंगलबार — सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव साटिएको गम्भीर घटनापछि प्रशासनले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। घटनापछि उत्पन्न विवाद, स्थानीयको आक्रोश र तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार समितिमा मृतक पक्षका प्रतिनिधि (काका), अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाध्यक्ष र प्रहरी निरीक्षक सदस्य रहनेछन्।
प्रजिअ पौडेलले घटनालाई गम्भीर मान्दै निष्पक्ष छानबिन सुनिश्चित गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका सम्बन्धित कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको बताए।
कसरी भयो घटना?
गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि सो अस्पतालमा राखिएको थियो। सोही समयमा सप्तरीकी समान उमेर समूहकी अर्की किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा थियो।
अस्पताल प्रशासनको लापरवाहीका कारण झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाइएको र परिवारले आइतबार नै अन्त्येष्टि गरिसकेको खुल्न आएको छ। सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ अस्पताल पुगेपछि शव साटिएको तथ्य बाहिर आएको बताइएको छ।
स्थानीय आक्रोश र माग
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले अस्पतालको गम्भीर लापरवाहीमाथि कडा कारबाही, सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
प्रशासनले भने छानबिन समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने र त्यसका आधारमा आवश्यक कदम चालिने जनाएको छ।

