शहीदको सपना पूरा गर्न राष्ट्र निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

माघ १६ को सन्दर्भमा राष्ट्रपतिको सन्देश: सुशासन, शान्ति र समृद्धितर्फ अग्रसर हुन आग्रह

काठमाडौं, माघ १६ — राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूको बलिदानले स्थापित गरेको वर्तमान शासन व्यवस्थालाई सार्थक बनाउन सम्पूर्ण नेपालीलाई मन, वचन र कर्मले राष्ट्र निर्माणमा समर्पित हुन आह्वान गरेका छन्।

शहीद दिवसको अवसरमा शुक्रबार जारी सन्देशमा राष्ट्रपतिले शहीदहरूको आकाङ्क्षा केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका हुन्। उनले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्गमा अघि बढाउनु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सन्देशमा भनिएको छ कि नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउने ऐतिहासिक यात्रामा विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासनविरुद्ध भएका आन्दोलनहरूमा वीर वीरङ्गनाहरूले दिएको बलिदान राष्ट्रका लागि अमूल्य सम्पत्ति हो।

राष्ट्रपतिले शहीदहरूको आदर्शबाट प्रेरणा लिएर राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार र उत्तरदायी शासन प्रणाली सुदृढ गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।

Leave a Comment