वीरगञ्ज — चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट ११ अर्ब ५७ करोड रुपैयाँ बराबरका १६ प्रकारका खाद्य पदार्थ आयात भएका छन्। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ करोड रुपैयाँले कम हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो छ महिनामा ११ अर्ब ७८ करोड रुपैयाँ मूल्यका खाद्य पदार्थ आयात भएका थिए। चालु आवमा भने सोही अवधिमा खाद्य आयातमा सामान्य गिरावट देखिएको उनले बताए।
तथ्याङ्क अनुसार चालु आवको छ महिनामा मात्रै ५ अर्ब ६८ करोड रुपैयाँ मूल्य बराबरको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। गत आवको सोही अवधिमा भने ६ अर्ब ९ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो, जसले धान आयातमा पनि कमी आएको देखाउँछ।
यसैगरी, चालु आवको पहिलो छ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ मूल्य बराबरको मकै आयात भएको छ। चामल १ अर्ब ६१ करोड रुपैयाँ बराबर आयात भएको छ भने माल्ट ३३ करोड रुपैयाँ मूल्य बराबर भित्रिएको छ।
खाद्य वस्तुको आयात घटेपनि आधारभूत उपभोग्य वस्तुको निर्भरता अझै उच्च नै रहेको देखिन्छ। भन्सार कार्यालयका अनुसार आन्तरिक उत्पादन, बजार माग र मूल्यस्थितिले आयात परिमाणमा असर पार्ने गरेको छ।






