अमेरिकाले मौसमी कामदारका लागि थप ६५ हजार एच–२बी भिसा उपलब्ध गराउने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१७ माघ २०८२, शनिबार
काठमाडौं । अमेरिकाले सन् २०२६ को सेप्टेम्बर ३० सम्म लागू हुने गरी मौसमी कामदारका लागि थप करिब ६५ हजार ‘एच–२बी’ भिसा उपलब्ध गराउने भएको छ। अमेरिकी श्रम बजारमा देखिएको कामदार अभावका कारण अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने जोखिम बढेपछि यो निर्णय लिइएको हो।

फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार, पर्याप्त कामदार नपाएर संकटमा परेका रोजगारदातालाई लक्षित गर्दै यी भिसा उपलब्ध गराइनेछ। यस निर्णयसँगै निर्माण, होटल तथा आतिथ्य सेवा, ल्याण्डस्केपिङ र सीफुड प्रशोधनजस्ता क्षेत्रमा वार्षिक रूपमा दिइने ६६ हजार भिसाको संख्या झन्डै दोब्बर हुने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार, यी क्षेत्रमा अमेरिकी कामदारको अभाव लामो समयदेखि चुनौती बन्दै आएको थियो। नयाँ निर्णयले श्रम बजारको यथार्थ अवस्थालाई स्वीकार गरेको देखिन्छ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सन् २०२५ मा ह्वाइट हाउस फर्किएयता अध्यागमन नीतिमा कडाइ गर्दै आएका छन्। उनले अवैध आप्रवासीहरूलाई अपराध र आर्थिक बोझको रूपमा चित्रण गर्दै व्यापक कारबाही अघि बढाएका छन्। यस क्रममा यात्रा प्रतिबन्ध, शरणार्थी कार्यक्रमको पुनरावलोकन तथा कानुनी अध्यागमनका केही प्रक्रियामा समेत कडाइ गरिएको छ।

यद्यपि, मौसमी कामदारको आवश्यकता पूरा गर्न यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकाल तथा ट्रम्पकै अघिल्लो कार्यकाल (२०१७–२०२१) मा पनि एच–२बी भिसाको संख्या बढाइएको थियो।

होटल, निर्माण तथा अन्य मौसमी व्यवसाय सञ्चालन गर्ने रोजगारदाताहरूले लामो समयदेखि थप भिसाको माग गर्दै आएका थिए। हालैको कडा अध्यागमन कारबाहीका कारण श्रमिक अभाव झनै बढेको उनीहरूको गुनासो छ।

तर अध्यागमन घटाउनुपर्ने पक्षधर समूहहरूले भने यस निर्णयको विरोध गरेका छन्। उनीहरूका अनुसार विदेशी कामदारको संख्या बढ्दा अमेरिकी कामदारको पारिश्रमिकमा नकारात्मक असर पर्न सक्छ।

यसैबीच, ट्रम्प प्रशासनले ‘एच–१बी’ भिसा कार्यक्रममार्फत दक्ष कामदार भित्र्याउने प्रक्रियालाई भने कडा बनाएको छ। यसमा थप गरिएको उच्च शुल्कका कारण कानुनी चुनौतीसमेत उत्पन्न भएको बताइएको छ।

थप एच–२बी भिसासम्बन्धी अस्थायी नियम मंगलबार फेडरल रजिस्टरमा औपचारिक रूपमा प्रकाशित हुने जनाइएको छ।

Leave a Comment