१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१८ माघ २०८२, आइतबार-काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइअन्तर्गत हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको काम पूरा भएको हो। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रका मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।

त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेत निर्वाचन क्षेत्र नं १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछामका निर्वाचन क्षेत्र नं १ र २, कैलाली निर्वाचन क्षेत्र नं १, झापा निर्वाचन क्षेत्र नं ५ र सुनसरी निर्वाचन क्षेत्र नं १ का प्रत्यक्षतर्फका मतपत्र पनि छपाइ भइसकेको छ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार समानुपातिकतर्फका मतपत्र छपाइको काम समेत निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ।

निर्वाचन आयोगले बाँकी निर्वाचन क्षेत्रका मतपत्र छपाइ कार्य छिट्टै सम्पन्न गरी समयमै वितरण गर्ने तयारी भइरहेको जनाएको छ।

Leave a Comment