भारतसँग नयाँ डिलपछि अमेरिकी कर घट्यो, व्यापार सम्बन्धमा नयाँ मोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, माघ २० — अमेरिका र भारतबीच नयाँ व्यापार समझदारी भएपछि भारतीय वस्तुमा लाग्दै आएको अमेरिकी भन्सार दर घट्ने भएको छ। यसलाई दुई देशबीचको व्यापार सम्बन्धमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गरेका हुन्। उनका अनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लाग्दै आएको २५ प्रतिशत भन्सार दर घटाएर १८ प्रतिशतमा सीमित गर्नेछ।

ट्रम्पले भारतले आफ्ना व्यापारिक अवरोधहरू कम गर्ने र अमेरिकासँगको व्यापार विस्तारमा सहमति जनाएको बताएका छन्। रुसबाट तेल खरिदको विषयमा लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइने उनले उल्लेख गरेका छन्।

मोदीको प्रतिक्रिया

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको समझदारीलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले दुवै देशका जनता र अर्थतन्त्रका लागि यो सहकार्य फलदायी हुने बताएका छन्।

ट्रम्पका अनुसार दुई नेताबीचको फोन संवादमा व्यापारका साथै रुस–युक्रेन युद्ध र ऊर्जा आपूर्तिबारे पनि छलफल भएको थियो। भारतले अमेरिकाबाट ऊर्जा आयात बढाउने विषयमा पनि सकारात्मक संकेत दिएको जनाइएको छ।

ठूलो परिमाणमा अमेरिकी सामान किन्ने प्रतिबद्धता

अमेरिकी पक्षका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइलाजस्ता क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढी मूल्यका अमेरिकी वस्तु खरिद गर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि उच्च भन्सार दरका कारण भारतबाट अमेरिकातर्फ हुने निर्यातमा गिरावट आएको थियो। नयाँ समझदारीपछि भारतीय निर्यातकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार यो सम्झौताले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउनेछ।

Leave a Comment