बैतडी, माघ २३ — जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बझाङको बित्थडचिर गाउँपालिकाले एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई तत्काल राहतस्वरूप उक्त रकम प्रदान गरिने जनाएको हो। गाउँपालिकाका अनुसार पीडित परिवारलाई साथ र सहयोग दिन यो निर्णय गरिएको हो।
दुर्घटनामा १३ को मृत्यु, ३४ घाइते
बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किँदै गरेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
शोकमा स्थानीय तह
गाउँपालिकाले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेको उपचारमा आवश्यक सहजीकरण गरिने पनि जनाएको छ।
यो दुर्घटनाले सिंगो क्षेत्र शोकमा डुबेको छ भने स्थानीय तह, प्रशासन र सर्वसाधारणले पीडित परिवारको सहयोगका लागि ऐक्यबद्धता जनाइरहेका छन्।

