स्वरूप बिगारी चर्को आवाज निकाल्ने आठ मोटरसाइकल नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, शनिबार, माघ २४, २०८२ : काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी अत्यधिक चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाइरहेका आठ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पछिल्लो समय उपत्यकाका विभिन्न स्थानमा ‘कानै फुट्ने’ आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको थियो।

यसै क्रममा तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको निगरानीका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा चेकजाँच गर्दा ती मोटरसाइकल फेला परेका हुन्। ती सवारीसाधनमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको छ, जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा असर पुगेको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र नभई मानव स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउने बताए। उनका अनुसार अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन्।

प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। हाल ती सवारीसाधन थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ।

ट्राफिक प्रहरीले कानुनले तोकेको मापदण्ड विपरीत सवारीसाधनको स्वरूप परिवर्तन नगर्न र नियमअनुसार मात्रै सवारी चलाउन सबै चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ।

Leave a Comment