काठमाडौं, माघ २६, २०८२: प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले बदर मतको संख्या घटाउने उद्देश्यसहित देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आयोगले यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
निर्वाचन हुन अब २४ दिन बाँकी रहँदा राजनीतिक दलहरू चुनावी गतिविधिमा व्यस्त छन् भने निर्वाचन आयोग मतदातालाई सचेत बनाउने अभियानमा केन्द्रित भएको छ। आयोगले मतदान प्रक्रिया, मतसङ्केत र मत बदर हुने कारणबारे जानकारी दिन मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।
आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत कर्मचारी तथा स्वयंसेवक परिचालन गरिनेछ। करिब २३ हजार मतदान अधिकृतसहित निर्वाचनसँग सम्बन्धित कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई समेत मतदाता शिक्षामा संलग्न गराइने तयारी छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए। उनका अनुसार मतदातालाई मताधिकारप्रति सचेत गराउने र सही तरिकाले मतदान गर्न सक्षम बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
आयोगले डिजिटल प्लेटफर्ममार्फत पनि निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ। यसले मतदातालाई सही सूचना उपलब्ध गराउने, मिथ्या सूचना पहिचान गर्न सहयोग गर्ने र मत बदर हुने अवस्था न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
प्रभावकारी मतदाता शिक्षाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।
उल्लेखनीय छ, प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते, २०८२ का लागि तय गरिएको छ। निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीबाट १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना गरी कुल २७५ जना प्रतिनिधि निर्वाचित हुनेछन्।

