रामेछाप बस दुर्घटना: बेपत्ता तीनजनाको खोजीका लागि नदी क्षेत्रमा सघन अभियान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मन्थली (रामेछाप), ३ फागुन — मङ्गलबार रामेछापको मन्थली–६ त्रिवेणी पुल नजिक भएको बस दुर्घटनापछि बेपत्ता भएका तीनजनाको खोजी कार्य तीव्र बनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले तामाकोशी र सुनकोशी नदीका विभिन्न सम्भावित क्षेत्रमा सघन खोजतलास जारी राखेको जनाएको छ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ००१–०५ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा आठजना घाइते भएका छन् भने तीनजना अझै बेपत्ता रहेका छन्।

बेपत्ता हुनेमा मन्थली नगरपालिका–२ पिप्ले निवासी ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार नदीको बहाव, गहिराइ र ढुंगायुक्त भूभागका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। यद्यपि गोताखोर टोलीले सम्भावित सबै क्षेत्रमा चरणबद्ध रूपमा खोजी जारी राखेको र बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन हरसम्भव प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment