सरकारको ध्यान सफल निर्वाचन र अर्थतन्त्र सुधारमा; पर्यटनलाई उद्योगसरह सुविधा दिने प्रतिबद्धता दोहोर्याइयो
काठमाडौं, फागुन ८ — अर्थमन्त्री ले आगामी निर्वाचन सञ्चालनका लागि आवश्यक स्रोतसाधन अभाव हुन नदिने बताएका छन्। निर्वाचनलाई व्यवस्थित र सफल बनाउनेतर्फ सरकार पूर्ण रूपमा केन्द्रित रहेको उनले स्पष्ट पारे।
नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा बोल्दै अर्थमन्त्री खनालले अब मुलुकलाई राजनीतिक अस्थिरताको बहसबाट बाहिर निकालेर आर्थिक एजेन्डामा केन्द्रित हुने समय आएको उल्लेख गरे। उनले सरकारका लागि आर्थिक स्थिरता र विकासलाई अघि बढाउनु सबैभन्दा ठूलो चुनौती रहेको बताए।
खनालले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै त्यसलाई प्रभावकारी रूपमा लागू गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए। पर्यटनमार्फत अर्थतन्त्र सुदृढ पार्न नीतिगत सुधार र सहजीकरणका उपायहरू अघि सारिने उनले बताए।
अर्थमन्त्रीका अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु राजनीतिक स्थिरता र आर्थिक गतिविधि पुनरुत्थानका लागि महत्वपूर्ण आधार बन्नेछ। सरकारले आर्थिक उन्नयनका लागि विभिन्न नीतिगत पहल र कार्यक्रम अघि बढाइरहेको उनले जोड दिए।

