काभ्रेपलाञ्चोक–२ मा मधु आचार्यको कार्यक्रममा सहभागी, “न्युट्रल मतदाताका रूपमा आएको”
काभ्रेपलाञ्चोक, फागुन ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका छन्।
काभ्रेपलाञ्चोक–२ का कांग्रेस उम्मेदवार मधु आचार्यको पक्षमा पाँचखाल नगरपालिका–५ केराघारीमा आयोजित कार्यक्रममा पुगेका खरेलले आफू कुनै दलमा आवद्ध नभए पनि देश परिवर्तनको अपेक्षासहित कार्यक्रममा उपस्थित भएको बताए।
उनले आफूलाई तटस्थ मतदाताका रूपमा प्रस्तुत गर्दै कांग्रेसमा देखिएको नयाँ नेतृत्व र रूपान्तरणप्रति सकारात्मक धारणा व्यक्त गरे। “म कुनै पार्टीमा छैन, तर अहिलेको कांग्रेस पहिलेको जस्तो रहेन। सुदृढीकरणसहित युवा नेतृत्व उदाएको छ, जसले स्पष्ट दृष्टि र योजना बोकेको छ,” उनले भने।
कांग्रेसका युवा नेताहरूको प्रयासलाई सहयोग गर्न मत माग्न आएको उल्लेख गर्दै खरेलले राजनीतिक परिवर्तनका लागि नयाँ सोच आवश्यक रहेको धारणा राखे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनेका खरेल पछि रास्वपामा आवद्ध भएका थिए। बारा–२ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनी जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग पराजित भएका थिए।
उपनिर्वाचनपछि रास्वपामा सक्रिय भूमिका नदेखिएका खरेलले पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

