सर्वपक्षीय बैठकपछि पनि गौरमा कर्फ्यु यथावत् : सुरक्षा प्रतिबद्धता नआएसम्म नहटाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

आइतबार, १० फागुन २०८२

गौर — नगर क्षेत्रमा ९ फागुन २०८२ देखि जारी कर्फ्यु आइतबार (१० फागुन) बिहान बसेको सर्वपक्षीय बैठकपछि पनि यथावत् राखिएको छ। स्थानीय प्रशासनले दुई समुदायबीचको तनाव पूर्ण रूपमा नियन्त्रणमा नआएको र दीर्घकालीन शान्ति सुनिश्चित हुने अवस्था नदेखिएको भन्दै कर्फ्यु तत्काल नहटाइने जनाएको हो।

मा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा १० फागुन बिहान बसेको सर्वपक्षीय बैठकले सद्भाव पुनर्स्थापना र शान्ति कायम गर्न पाँचबुँदे निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार गौर–६ सबगढामा ७ फागुन २०८२ राति सुरु भएको विवाद ८ फागुनदेखि उग्र बनेपछि ९ फागुन दिउँसो १ बजेदेखि कर्फ्यु लागू गरिएको थियो। “दुवै पक्षका स्थानीय अगुवालाई आज (१० फागुन) दिउँसो बोलाएका छौँ। उनीहरूबीच सद्भाव कायम गर्ने लिखित प्रतिबद्धता र कार्यान्वयनको विश्वासिलो आधार बनेपछि मात्रै कर्फ्यु हटाउने विषयमा विचार हुन्छ,” उनले बताए।

बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्ति कायम गर्न संयुक्त सार्वजनिक अपिल जारी गर्ने, दुवै पक्षका अगुवाबीच प्रशासनको समन्वयमा थप छलफल गर्ने, सामाजिक सञ्जालमा भ्रामक प्रचार रोक्न सुरक्षा निकायलाई सहयोग गर्ने, दोषीमाथि अनुसन्धान गरी कारबाही अघि बढाउने तथा ११ फागुन २०८२ बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्‍याली गर्ने निर्णय गरेको छ।

स्थानीय अगुवाबीच सहमति र सामुदायिक सद्भाव पुनर्स्थापित भएको सुनिश्चित भएपछि मात्रै चरणबद्ध रूपमा कर्फ्यु हटाउने प्रशासनको तयारी रहेको जनाइएको छ।

Leave a Comment