काठमाडौं, १० फागुन । आसन्न निर्वाचनको सुरक्षा व्यवस्थाको अनुगमन गर्न सशस्त्र प्रहरी बलले २३ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई देशभर खटाउने भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले सोमबारदेखि उनीहरूलाई ७७ वटै जिल्लामा अनुगमन जिम्मेवारीसहित पठाउन लागेको हो ।
खटिन लागेका वरिष्ठ अधिकृतहरूलाई आइतबार भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष निर्देशन दिएका छन् । उनले निर्वाचनअघिदेखि मतदान अवधि र त्यसपछिको संवेदनशील समयमा देखिन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरे ।
महानिरीक्षक अर्यालले उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षामा थप सतर्कता अपनाउन निर्देशन दिँदै सुरक्षासम्बन्धी सूचना संकलन, फिल्ड–मुख्यालय समन्वय र सबै तहका कमान्डरसँग निरन्तर सम्पर्कमा रहन एसएसपीहरूलाई भनेका छन् । फिल्डमा देखिएका कमीकमजोरी र तत्काल सुधार गर्नुपर्ने विषय छिटो मुख्यालयमा जानकारी गराउन पनि उनले जोड दिए ।
निर्वाचन अवधिभर सुरक्षाकर्मीले सभ्य र नम्र व्यवहार देखाउनुपर्ने, उनीहरूको सेवा–सुविधामा गुनासो नआउने गरी व्यवस्थापन गर्नुपर्ने तथा आवश्यक परे बल प्रयोग गर्दा मानवअधिकारको पूर्ण पालना गर्दै प्रमाण सुरक्षित राख्नुपर्ने निर्देशन पनि दिइएको छ ।
सीमावर्ती क्षेत्रको निगरानी, निर्वाचन बिथोल्ने प्रयासको पहिचान र कानुनसम्मत कारबाहीका लागि रणनीतिक रूपमा काम गर्न मातहतका कमान्डरहरू स्पष्ट हुनुपर्ने महानिरीक्षकको भनाइ छ । सोमबारदेखि खटिने वरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालयबीच समन्वयकारी भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।






