कलैया, १७ चैत —बाराको कलैयामा बालेन नेतृत्वको सरकार तथा सुरक्षा निकायको समर्थनमा युवाहरूले मोटरसाइकल र्याली निकालेर देशमा शान्ति, सुशासन र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाएका छन्।
जेनजी युथ अफ बारा को संयोजक सौरभ पाण्डेको नेतृत्वमा आयोजना गरिएको उक्त र्याली दरबार रोडबाट सुरु भई भरत चोक, बालमन्दिर, श्री ३ चन्द्र रोड, देवकोटा चोक, गुप्ता पेट्रोल पम्प हुँदै कलैया बजार क्षेत्र परिक्रमा गर्दै सम्पन्न भएको हो। र्यालीमा सहभागी युवाहरूले सरकारका पछिल्ला गतिविधि र छानबिन प्रक्रियाप्रति समर्थन जनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने माग राखेका थिए।
सहभागीहरूले देशमा शान्ति, सुशासन र स्थिरता कायम गर्न सरकार तथा सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने सन्देश दिँदै विभिन्न नारा लगाएका थिए। कार्यक्रममा सौरभ चौगाई, सुरज साह, संजय चौधरी, प्रशान्त यादव, आनन्द गुप्ता, रोहित पटेल, अशोक पाण्डे, सुरज खनाल, लालु गुप्ता र एजाजुल अंसारी लगायत युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजकका अनुसार र्यालीमार्फत युवाहरूलाई सक्रिय बनाएर सरकारका सुशासन र छानबिनका प्रयासको बारेमा जनचेतना फैलाउन र देशमा भ्रष्टाचार तथा अराजकता नियन्त्रण गर्न सम्बन्धित निकायलाई सहयोग गर्न उत्प्रेरित गर्नु प्रमुख उद्देश्य थियो।

