हेटौंडा, ११ फागुन २०८२ – रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पार्टी छोडेर पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आज हेटौंडा–४ स्थित हुप्रचौरमा रास्वपाले आयोजना गरेको सभाको समयमा पराजुली सर्लाही पुगेका थिए र कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले स्वागत गरेका थिए।
सामाजिक सञ्जालमार्फत पराजुलीले पार्टी नेतृत्व शैलीमाथि असन्तोष जनाउँदै पार्टी छोडेको घोषणा गरे। उनले भने,
- “सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले मलाई निराश बनायो। पार्टीमा सुरुमा हामीले देखेका उद्देश्य, मूल्य र आदर्श व्यवहारमा विपरीत रूप लिन थाले।”
भरत पराजुली मनहरी गाउँपालिका घर भएका हुन्। उनी ६ मंसिर २०८१ मा रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रुपमा सभापति चयन भएका थिए। यसअघि उनी पुरानो दल कांग्रेस छोडेर रास्वपामा आएका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पराजुलीले १२,०३९ मत पाएका थिए र तेस्रो स्थानमा रहे। विजयी भएका नेकपा एमालेका महेश बर्तौला ३४,९१६ मत ल्याएका थिए।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन: उम्मेदवार बन्न चाहेका पराजुलीले पार्टीबाट टिकट नपाएपछि असन्तुष्ट भएर कांग्रेससँग संवाद सुरु गरेका थिए। उनका सहयोगीका अनुसार, टिकट नपाउँदा सभापति रवि लामिछानेले सल्लाह दिएका थिए, तर पराजुलीले अन्ततः आफ्नो पुरानो दल रोजेका छन्।

