काठमाडौं, १३ चैत २०८२ — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभार ग्रहण गर्न सिंहदरबार पुगेका छन्। शपथ ग्रहणपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् र केहीबेरमै औपचारिक रूपमा पदभार सम्हाल्ने तयारीमा छन्।
यसअघि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनसहित १४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
शपथ कार्यक्रममा वैदिक तथा बौद्ध परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो।
राष्ट्रपति पौडेलले संविधान २०७२ को धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताका रूपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधान जारी भएयता उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो।
साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पनि यो पहिलो अवसर बनेको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका बालेन पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका हुन्।

