रामेछाप, १८ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सामग्री र टोली बोकेको गाडी रामेछापमा दुर्घटना हुँदा प्रहरी र एक मतदान अधिकृतको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा ना४ख ६७६८ नम्बरको मिनी ट्रक सोमबार दिउँसो सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमै प्रहरी सहायक निरीक्षक आरपी यादवको मृत्यु भएको थियो । साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रका निर्वाचन अधिकृत तथा रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए ।
६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइयो
दुर्घटनामा घाइते सात जनामध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँ रिफर हुनेमा सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, सविना खड्का, केदारकुमार रोक्का, कृष्णप्रसाद घिमिरे र दुर्गा कार्की रहेका छन् ।
निर्वाचन सामग्री बोकेको थियो गाडी
उक्त मिनी ट्रक देउराली र साँघुटारका तीन मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर जाँदै थियो । देउराली माविमा सामग्री बुझाएर सिरुबारी हुँदै हिमगंगा मावि साँघुटारका मतदान केन्द्रतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

