तराईका जिल्लामा आज रंगीन होली, बारामा विशेष सुरक्षा व्यवस्था

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मङ्गलबार, १९ फागुन २०८२ | काठमाडौं

रंगहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली तथा पहाडी क्षेत्रमा सोमबार फागु पूर्णिमा मनाइएपछि परम्पराअनुसार आज तराई–मधेसका जिल्लामा होली मनाउने गरिएको हो।

आज नवलपरासी (पूर्व र पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा रंग अबिर साटासाट गर्दै होली मनाइँदै छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको होलीलाई असत्यमाथि सत्य र विभेदमाथि समानताको प्रतीकका रूपमा लिने गरिन्छ। रङ, अबिर, नाचगान र पारिवारिक भेटघाटमार्फत आपसी सद्भाव सुदृढ गर्ने पर्वका रूपमा यसको विशेष महत्व छ।

यसैबीच, पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन ले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। कार्यालयका अनुसार होलीका दिन जिल्लाका विभिन्न स्थानमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ।

प्रहरीले कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने वा अभद्र व्यवहार गर्ने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। यस्ता कार्यमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, रसायनयुक्त हानिकारक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र कुनै पनि अप्रिय घटना भए तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

उल्लासको पर्व होलीलाई सभ्य, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन प्रशासनले सबैसँग सहयोगको अपिल गरेको छ।

Leave a Comment