धादिङ बस दुर्घटना: मृतक १९ पुगे, छानबिन समिति गठन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ फागुन २०८२ – धादिङमा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। मृतकमध्ये ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिक त्रिशूली नदी किनारमा खसेको थियो। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार हाल ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जना गरी २५ जनाको उपचार भइरहेको छ।

मृतकमध्ये ९ जनाको पहिचान खुलेको छ भने अन्यको सनाखत प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गृह मन्त्रालयमा सोमबार उच्चस्तरीय बैठक बसेको थियो। ठूलो मानवीय क्षति भएको घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।

बैठकमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकाय सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, सुरक्षा कमजोरी र जिम्मेवारीबारे अध्ययन गर्न छानबिन समिति बनाउने सहमति भएको हो।

यस दुर्घटनालाई हालैका वर्षकै ठूलो सडक दुर्घटनामध्ये एक मानिएको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा सक्रिय रहेका थिए।

Leave a Comment