काठमाडौँ — आउँदो प्रतिनिधिसभा निर्वाचनको आसपासमा पर्ने विभिन्न सार्वजनिक बिदा जोडिँदा फागुन १८ देखि २४ गतेसम्म लगातार सात दिन सार्वजनिक बिदा हुने भएको छ।
सरकारले प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तय गरिसकेको छ। निर्वाचनको एक दिनअघि र एक दिनपछि गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
यसैबीच चुनावअगाडि होली पर्व परेकाले फागुन १८ गते पहाडी जिल्लामा तथा फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा परेको छ। फागुन २२ गते शनिबार परेकाले स्वतः बिदा भएको छ भने त्यसको भोलिपल्ट फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पनि सार्वजनिक बिदा हुनेछ।
यसरी होली, निर्वाचन र नारी दिवसको बिदा जोडिँदा फागुन १८ देखि २४ गतेसम्म एक सातासम्म सार्वजनिक बिदा हुने भएको हो।

